परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जाँदै
आज परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारत जादैँछन् ।
परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन आज नयाँदिल्ली जान लागेका हुन् ।
बैठक तीन दिनसम्म चल्ने छ । परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ ।
मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् ।परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल-भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड-१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।
यसैबीच नागरिक समाजका अगुवाहरुले भने परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा दीर्घकालीन महत्वका विषयमा सहमति नगर्न आग्रह गरेका छन् ।