Logo
८ मंसिर २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन, कुल मृतक संख्या ३१५ पुग्यो

कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

अगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्यसमितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ ।

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।

बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकीमूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ ।

भारतसहित बेलायत, युरोपेलि मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्