नेपाली कांग्रेसद्वारा गरिने सरकारविरुद्ध प्रदर्शनमा देउवा हेटौंडा, गगन कैलाली जाने
प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना महामारीबीच सडकबाट सरकारको विरोध गर्ने भएको छ।
गत मंसिर १७ गते दमौलीमा पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने बताएको थियो।
शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन्।मंसिर २९ मा हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ।
यसबाहेक कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको बताएको छ। भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा उसको विरोध छ।
‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन्।
पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै कांग्रेसले बेलैमा सचेत हुनुपर्ने बताउने गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ।
गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच प्रदर्शनको बाटो रोजेको छ।
केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन।वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू रामशरण महत चितवन, चित्रलेखा यादव सप्तरीर अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।
यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।