Logo
६ आश्विन २०८१, आईतबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव नेतृत्वको नेकपा झन् ‘शक्तिशाली’ ! गाउँगाउँमा जनसरकार र जनअदालत गठन

सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झन् शक्तिशाली बन्दै गएको छ ।

अहिले उसले देशका विभिन्न भेगमा जनसरकार र जनअदालत गठनको कामलाई तीव्रता दिएको उच्च स्रोतले बताएको छ । यसैक्रममा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा ‘विप्लव’ नेतृत्वको नेकपाले समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ।

जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा जनसरकार घोषणा गरेको हो। नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले सरकारले स्थानीय निर्वाचन गठन गरेको स्थानीय सरकारको विकल्पमा आफ्नो पार्टीले समानान्तर जनसरकार गठन गरेको जानकारी दिए।

उनका अनुसार जिल्लाको नरहरीनाथ गाँउपालिकामा मनबहादुर विष्ट, सान्नीत्रिवेणी गाउँपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचाल झरना गाउँपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप विक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाउँपालिकामा धर्म विक र महाँवै गाउँपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमुखको जिम्मेवारी दिएको छ।

जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधामहावै गाउँपालिकासँग जोडिएको छ। विप्लवले जिल्ला समन्वय समितिको पनि समानान्तर निकायका रुपमा जिल्ला जनसरकार गठन गरेको छ। जसमा अर्जुन विकलाई जिम्मेवारी दिइएको छ।

जिल्ला सेक्रेटरी ऐडीले भने, ‘हामीले स्थानीय सरकारको समानान्तर सत्ता जनसरकार गठन गरी हरेक स्थानीयतहले आफ्नो कुल बजेटको २ प्रतिशत जनसरकारलाई कर तिर्नुपर्ने, स्थानीय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत बजेट जनसरकारलाई दिएर कार्यन्वयन गर्नुपर्ने निर्णय पनि गरेका छौँ।’

ऐडीले स्थानीयतहका जनप्रतिनिधिले पार्टीको जनसरकारले मागे अनुसार कर तिरेर बजेटमा भाग दिए मात्र गाउँमा बस्न पाउने चेतावनीसमेत दिएका छन्। नत्र उनीहरु गाउँबाट लखेटिने उनको भनाइ छ।

त्यसैगरी विप्लवको पार्टीले जिल्ला अदालतको समानान्तर अदालत जिल्ला जनअदालत पनि गठन गरिएको छ।

जसमा न्यायाधीशको जिम्मेवारी कमल बटालालाई दिइएको छ। स्थानीय सरकारदेखि प्रदेश तथा संघीय सरकारका योजनामा अनियमितता भए, गाउँमा जनतालाई अन्याय भए जनअदालतमा उजुरी दिन पाइनेछ।

उजुरी उपर बयान दिन विप्लवको अदालतमा उपस्थित नहुने जनप्रतिनिधि तथा कर्मचारीलाई पहिले युवा संगठन खटाउने त्यसले नसकेपछि जनमुक्ति सेनाले गिरफ्तार गरेर जनअदालतमा हाजिर गराउने र दोषीभए जनकारबाही गर्ने दाबी उक्त समूहले गरेको छ।

विप्लवले जिल्लास्तरमा ११ सदस्य सुरक्षा विभाग गठन गरेको छ। जस अन्तरगत जिल्लामा रहेका आठ वटा एरिया कमाण्डमा प्रत्येक एरियामा एक प्लाटन जनमुक्ति सेना पनि तयार पारेको छ।

एक प्लाटनमा २५ देखि ३५ जनासम्म जनमुक्ति सेनाभर्ती गरिएको छ। आगामी फागुन १ गते जनयुद्ध दिवसका दिन जनमुक्ति सेनाकोे बटालियन घोषणा गर्ने तयारी गरेको छ।

नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीले गाउँमा स्थानीय सरकारले गरेका भ्रष्टाचारको विरुद्धमा नागरिकलाई जनसरकार र जनअदालतमा उजुरी दिन अपील गरिएको बताए। उनले जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्न र भ्रष्टाचार, सामाजिक विकृतिलाई रोक्न पार्टीले जनसरकार र जनअदालतको पनि व्यवस्था गरेको दाबी गरेका छन्।

अन्य जिल्लामा समेत जनसरकार र जनअदालत गठनको कामलाई पार्टीले तीव्रता दिएको विप्लव निकट स्रोतको दावी छ ।

विप्लवका गतिविधीहरु आपराधिक बन्दै गएको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्