भक्तपुरको कौशल्टारमा कार दुर्घटना हुदाँ एकको मृत्यु, तीन घाइते
बाग्मती प्रदेश स्थित भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो ।
दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका-४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ ।
चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्याइएको बताए ।
घाइते श्रेष्ठको अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि-१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।
सोही कारमा सवार मध्यपुरथिमि-५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।
दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ ।