Logo
६ आश्विन २०८१, आईतबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्वका कर्मचारीलाई कस्दै अर्थमन्त्री, ठिक तरिकाले काम नगरे कठोर बन्ने चेतावनी

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीलाई कस्ने नीति अख्तियारी गर्न थालेका छन् ।

कार्यसम्पादनमा कर्मचारीबाट ढिलासुस्ती हुन थालेपछि उनले कर्मचारीमाथि निगरानी बढाउन थालेका हुन ।

यसैक्रममा पौडेलले  अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू लगायत सहित एकसय कर्मचारीसँग आज भिडियो संवाद गरे ।

अर्थमन्त्री पौडेलले कोभिड-१९ ले सिर्जना गरेका चुनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताए ।

उनले नियतवश त्रुटि, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारीलगायत जो-कोहीलाई पनि नछाड्ने बताए । डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताए ।

“कठिनाइ र समस्यालाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौं । पूरा नभए तपाईंहरु दण्डित हुनुपर्छ,” उनले भने ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालु आर्थिक वर्ष सकिँदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गरे । उनले इमानदार र सक्रिय भएर लाग्‍न पनि निर्देशन दिए ।

मन्त्री पौडेलले समस्या र समाधानबारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गरे । उनले भने, “आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस् । हामी सहयोग गर्न तयार छौं ।”

पौडेलले परिणाम निकाल्ने गरी काम गर्न कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गरेका छन् ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए । उनले राजस्वको लक्ष्य पूरा गर्न र त्योभन्दा बढी परिणाम निकाल्न आवश्यकताअनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न निर्देशन दिए ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरे । उनले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताएका थिए । कार्यक्रममा सयभन्दा बढी अर्थ प्रशासनका कर्मचारी सहभागी थिए ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्