Logo
७ आश्विन २०८१, सोमबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा गम्भीर मोडमा, पार्टी एकता जिवित राख्न शीर्ष नेताहरुको हारगुहार !

पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चुलिँदै गएको छ।

आइतबार खुमलटार भेलामा प्रचण्डले दुई अध्यक्षबीचको भेटलाई ब्रिफिङ गर्दै ओलीले पार्टी फुटाउन चाहेको बताएका थिए।

दुई अध्यक्ष बिचको बढ्दो अन्तरद्धन्द्धले नेकपा फुटको चरणमा गएको छ । एमाले र तत्कालिन माओवादीबीच भएको एकता भंग हुन थालेपछि नेकपामा शीर्ष नेताहरु हारगुहार गर्न थालेको छन् । यसैक्रममा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।

सोमबार ट्वीट गर्दै उनले सो अभिव्यक्ति दिएका हुन्।

त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी समेत गर्न उनले आग्रह गरेका छन्।

उनले ट्वीटमा भनेका छन्-एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गरेका छन्।

‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहेनत, पसिना लगाएर हासिल गरिएको हो। यसको बिफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन,’ श्रेष्ठले भनेका छन्, ‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकको चाहना र जनादेशविरूद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाउँबाट एकताको रक्षा निम्ति सक्रिय पहल गरौं। पार्टीको बैठक बसौं र सबै पक्षका बारेमा खुला छलफल गरौं।’

उनले पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको बताएका छन्। यद्यपी अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखा परिनसकेको उनको भनाइ छ।

पार्टी एकताको रक्षा निम्ति सबैबाट एउटै कुरामा इमानदार प्रतिवद्धता भए पुग्ने भन्दै उनले पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

‘व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन। देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं,’ उनले भनेका छन्, ‘जान-अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिको चाहना पूरा गर्ने कार्य कसैबाट नओस्। सबैले समयमै सोचौं।’
नेकपा महासचिव एवम् अर्थ मन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ’, पौडेलले लेखेका छन् ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असहमति बढिरहेका बेला महासचिव पौडेलको यस्तो अभिव्यक्ति आएको हो।

११ दिनपछि शनिबार दुई अध्यक्षको भेट भएपनि छलफल सकारात्मक हुन सकेको थिएन। मन्त्रिपरिषद पुनर्गठन, कर्णाली प्रदेशको प्रकरण, रअ प्रमुखको भ्रमण र पर्सा घटनालाई लिएर प्रचण्डले असन्तुष्टि जनाएको स्रोतको दावी छ।

दुई अध्यक्षबीच मतान्तर बढ्दै गएपछि महासचिव पौडेलले दुवैलाई छुट्टाछुट्टै भेटेर संवाद गराउने प्रयत्न गरेका थिए।

यसअघि दुई अध्यक्षबीच विवाद उत्पन्न हुँदा पनि महासचिव पौडेलले दूरी घटाउने काम गरेका थिए।

पूर्व एमाले र पूर्व माओवादी एक भएर नेकपा बन्दा ओली र प्रचण्ड निकट रहेर पार्टी एकतालाई सम्भव तुल्याउनमा पौडेलको पनि भूमिका छ। सायद त्यसैको पुरस्कारस्वरुप दुई पार्टी एक भएपछि आफूभन्दा वरिष्ठ नेताहरुलाई पन्छाउँदै पौडेल नेकपाको महासचिव नियूक्त भए।

 

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्