अफगानिस्तानमा तालिबानको भिषण आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु
अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् ।
स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।बाघलान प्रान्तको गोजारगाह-ए-नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ ।तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन ।
अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ ।
उक्त हमलाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।अफगान सरकार र तालिबानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु नियमित रुपमा भइरहेका छन् ।
तालिबान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलताहरु रहेका छन् ।