कोरोनाविरुद्ध सामूहिक प्रतिरक्षाको अवधारणा डब्लुएचओका प्रमुखद्वारा खारेज
डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारीविरुद्ध सामूहिक प्रतिरक्षाको अवधारणालाई खारेज गरेका छन् ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका सम्बन्धमा यसको विकल्पका रुपमा केहीले हर्ड इम्युनिटीको कुरा गरिरहेका बेला डब्लुएचओले खारेज गरेको हो ।
खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनु पर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमता युक्त बन्ने केहीले तर्क गर्ने गरेका छन् ।
तर डब्लुएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले त्यस्तो कुनै पनि कुरा हुन सक्ने र सो कुरा वैज्ञानिक तथा नैतिक रुपमा समस्याग्रस्त रहेको बताएका छन् ।
समुदायको ठूलो हिस्साका बासिन्दा खोप मार्फत वा रोग बिस्तारित रुपमा फैलिएपछि संक्रामक रोगविरुद्ध इम्यून (प्रतिरोधात्मक क्षमता युक्त) बन्ने अवधारणा हर्ड इम्युनिटी हो ।
कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन् । तर अहिलेसम्म कुनै पनि खोपले स्वीकृति पाएका छैनन्, अर्थात मानवीय परीक्षण पूरा भएको छैन ।
परीक्षण पूरा भएपछि खोप प्रभावकारी र सुरक्षित देखिएमा मात्रै सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिइन्छ ।
सोमबार पत्रकार सम्मेलनमा बोल्ने क्रममा डब्लुएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको लामो समयसम्म पर्ने प्रभाव तथा इम्यून रेस्पोन्सको प्रभावकारिता र समयावधीबारे केही थाहा नभएको बताए ।
उनले भने, ‘हर्ड इम्युनिटी मानिसहरुलाई भाइरसबाट जोगाएर प्राप्त हुन्छ, उनीहरुलाई भाइरसको संक्रमण हुन दिएर होइन ।
’उनले अघि भनेका छन्, ‘सार्वजनिक स्वास्थ्यमा इतिहासको कुनै पनि समयमा हर्ड इम्युनिटीलाई रणनीतिका संक्रमणविरुद्ध प्रयोग गरिएको छैन । संक्रमणलाई रणनीतिकै रुपमा महामारी बन्न दिइएको छैन ।’
भाइरसलाई त्यसै फैलिन दिनुको अर्थ मानिसहरुलाई संक्रमित हुन, समस्या पर्न र मर्न दिनु रहेको उनले बताए।
विश्वभर अहिलेसम्म तीन करोड ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड-१९ का कारण विश्वमा १० लाख ८० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
अहिले विश्वभर कोभिड-१९ का १०० भन्दा बढी खोप विकासको क्रममा रहेको र त्यसमध्ये धेरै मानवीय परीक्षणको विभिन्न चरणमा भएको डब्लुएचओले जनाएको छ ।