ओली र दाहालबीच ठोस सहमति नभएपछि तत्काल मन्त्रिपरिषद पुर्नगठन नहुने
नेकपा अध्यक्षद्वय ओली र दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ ।
मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको हो ।
मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड तय नभएपनि रिक्त रहेका तीनवटा मन्त्रालयमा भने तत्कालै मन्त्री नियुक्त गर्न अध्यक्षद्वय सहमत छन् ।
ओली र दाहालबीच अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा एकदुई दिनभित्रै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको बताइएको छ ।
तर कुन मन्त्रालय कसले लिने भन्नेमा भने मतभेद कायमै रहेको दुवै अध्यक्षका निकट नेताहरुले बताएका छन् ।
भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो । त्यसपछि असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दियो ।
तर अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने बारेमा पटक–पटक छलफल भएपनि मापदण्डमा कुरा नमिल्दा मन्त्री हेरफर तत्काल नहुने भएको हो ।