नेपाल-चीन सीमा विवाद : भेटियो हुम्लामा हराएको ११ नम्बर पिलर
चीन-नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछिसी मास्तम्भ भेटिएको छ ।
नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो । चार वर्ष अगाडि पनि उक्त सीमा स्तम्भ हराएको सार्वजनिक भएको थियो ।
अशोज ३ गते शनिबार त्यस तर्फ गएको टोलीले बुधबार उक्त सीमा स्तम्भ भेट्टाएको अध्यक्ष लामाले बताए । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो ।
प्रजिअको टोली अझै सम्पर्कमा आउन सकेको छैन । अध्यक्ष विष्णु बहादुर लामाले लोलुङजोङमा बनाएका भवन चीनले आफ्नै भूमिमा दाबी गरेको भए पनि हराएको ११ नम्बर पिलर नपाउँदासम्म पत्याउन नसकिने बताएका थिए ।
उनले अब पिलर भेटिएकाले भवन कुन क्षेत्रमा बनेको हो भन्ने पत्ता लगाउन सहज हुने बताए । हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो ।
११ नम्बर सिमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका-६ लाप्चाक्षेत्र (लोलुङजोङ) मा भवनहरु बनाएको भनेर विवाद उत्पन्न भएको थियो ।
नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सिधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको टोली भने लिमीतर्फ लागेको थियो ।
कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका वडा नम्बर ६ को लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आएको थियो ।
सञ्चार सम्पर्क समेत नहुने उक्त स्थानमा प्रमुख जिल्ला अधिकारीको टोलीले नेपाली सेना, सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमा स्तम्भ खोजीमा पठाएको थियो ।
नेपाली सिमानामा चीनले भवनहरु बनाएको जानकारी पछि हुम्लाको सुरक्षाकर्मी टोली सिमास्तम्भ अनुगमनमा गएको थियो ।
सिमास्तम्भ भेटिए पनि लोलुङचोङ क्षेत्र नेपाल या चीन सिमानामा पर्छ भन्ने बारे यकिन भइसकेको छैन । अनुगमन टोली फर्किएपछि मात्रै थप अध्ययन प्रतिवेदन तयार पार्ने र सोही अनुसार थप अध्ययन गरेर लोलुङ्चोङ क्षेत्रको यकिन हुने जनाइएको छ । हुम्लामा १५ वटा सीमा स्तम्भ रहेका छन् ।