नेपालगञ्जमा उपचाररत एक कोरोना संक्रमित कैदीको मृत्यु
प्रदेश नं ५ स्थित बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट एक कैदीको ज्यान गएको छ ।
कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत, गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारेका ५८ वर्षीय कैदीको सोमबार बिहान ६.२५ बजे मृत्यु भएको बाँके जिल्लाका कोरोनाका फोकलपर्सनले जानकारी दिएका छन् ।
मृत पहिले देखिनै दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या आएको थियो । उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो ।
स्वास्थ्य समस्याकै बीच भदौ २१ गते बिहान १० बजे स्वाव लिइएको थियो ।त्यही दिन राती १० बजे कोरोना पोजिटिभ थाहा भएको थियो ।
भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उनको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको पुष्टि गरेको छ ।