अब कहिल्यै विवादमा नफर्कने नेकपा अध्यक्षद्वय ओली-प्रचण्ड अठोट
नेकपाका स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै अध्यक्षद्वय ओली प्रचण्डले स्थायी कमिटीको पाँचौं बैठकलाई समाधानको विन्दु मानेर विवादमा नफर्कने अठोट गरेका छन् ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले कहिल्यै विवादमा नफर्कने वाचा गरेका हुन् । “पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने,” अध्यक्षद्वयले नै हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ ।
अध्यक्षद्वयले नेताहरूलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन् ।
आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न परिपत्र गरेका छन् ।
त्यस्तै, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन दिए, अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गरे अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधानबमोजिम कारवाही गर्ने निर्देशनमा उल्लेख छ ।