प्रदेश १ सरकारले स्थानीय पालिकालाई १ करोड १० लाख उपलब्ध गराउने
प्रदेश नं १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका लागि स्थानीय पालिकालाई थप रु एक करोड १० लाख उपलब्ध गराएको छ ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाइएको हो ।
मोरङ्गका सुनवर्षी र रतुवामाई नगरपालिकालाई १०/१० लाख तथा धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई पाँच/पाँच लाखका दरले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाइएको छ ।
त्यस्तै चौदण्डीगढी नगरपालिकालाई रु १० लाख तथा गौरीगञ्ज र कमल गाउँपालिकालाई रु पाँचपाँच लाख प्रदेश सरकारले पठाएको छ ।
यसैगरी इलाम अस्पताललाई रु १० लाख, उदयपुर अस्पताललाई रु १५ लाख र झुम्का कारागारलाई रु १० लाख पठाइएको छ ।
सुनसरी जिल्लाका क्वारेन्टिन, आइसोलेशन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो ।
स्थानीय पालिकाको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए ।
कोभिड महामारी पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको मुख्यमन्त्री राईको भनाइ छ ।
प्रदेश १ मा ८६ सङ्क्रमित थप
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ८६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २३ महिला र ६३ पुरुष छन् ।
प्रदेशमा हालसम्म चार हजार ४९८ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । आज पाँच जनासहित प्रदेशमा एक हजार ९५३ जना कारोनाबाट मुक्त भइसकेका छन् ।
प्रदेशमा पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ५११ जनासहित हालसम्ममा एक लाख चार हजार ८४४ जनाको पिसिआर परीक्षण भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।