मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानको नियुक्तीबारे शुक्रबार निर्णय हुने
आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले बैठक स्थगित गरिएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रीहरूलाई बिहीबार साँझ बैठकमा आउन भनिएको थियो भनिएकोमा बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिइएको थियो ।
मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।
आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो ।
प्राधिकरणको कार्यकारी प्रमुखमा उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार परेको निकट स्रोतको दाबी छ । घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ ।
आज बैठक बसेको भए घिसिङको नियुक्ती आजै हुने थियो । तर, मन्त्रिपरिषद बैठक भोलिमात्रै बस्ने भनिएकोले अब घिसिङको नियुक्ती पनि भोलि नै हुनेछ ।
त्यस्तै, मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ ।