अब काठमाडौं उपत्यकामा भित्रिन पीसीआर रिपोर्ट नचाहिने
काठमाडौं उपत्यका भित्रिन अब कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।
पीसीआर रिपोर्ट नचाहिने भए पनि उपत्यका प्रवेशमा यसअघि जारी भएका सबै नियमको पालना र आवश्यक कागजात भने साथमा हुनुपर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
यसअघि अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा पीसीआर रिपोर्टसमेत अनिवार्य गरिएको थियो । तर पीसीआर रिपोर्ट भए त्यसले सहज भने हुनेछ ।
कोरोना महामारीपछि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारी र व्यक्तिलाई समेत रोक लगाइएको छ ।
ज्ञवालीले भने, “अत्यावश्यक सवारी एम्बुलेन्स, बिरामीलगायत सरकारले तोकेका सवारी आउन पाउनेछन् । यसबाहेक भने सम्बन्धित जिल्ला प्रशासनको सहजीकरणको पत्र आवश्यक पर्नेछ । यो काठमाडौंबाट बाहिरिन र भित्रिन दुवै हिसाबले लागु हुन्छ ।”
एसएसपी ज्ञवालीले भने, “उच्च सतर्कता अपनाएका छौं । भित्रिनेहरुको विवरण राख्ने काम भएको छ । अत्यावश्यक कामबाहेक आउनेलाई बाटोबाटै फर्काइ पनि दिएका छौं ।”
प्रहरीले काठमाडौंको नागढुङ्गा र भक्तपुरको साँगा नाकामा कडाइसमेत गरेको छ । यसबाहेक उपत्यका प्रवेशका साना नाकामा समेत प्रहरी सक्रियता बढाइएको छ ।
पछिल्लो समयमा उपत्यका भित्रिनेभन्दा बाहिरिनेको संख्या विस्तारै बढ्दै गएको पाइएको छ । चाडपर्वसमेत नजिकिँदै गएकाले छाड्ने क्रम बढेको हो ।
उपत्यकामा तीन साताको निषेधाज्ञा आजबाट खुकुलो भएको छ । उपत्यकाभित्र जोर-बिजोर प्रणालीमा सवारीसाधन र सार्वजनिक यातायात सञ्चालनमा आएपनि उपत्यका प्रवेशमा भने रोक यथावत् छ ।
प्रहरीका अनुसार कोरोना जोखिमको सुरुवाती चरणमा कतिपय व्यक्ति लुकीछिपी प्रवेश गरे पनि पछिल्लो समय भने त्यस्तो अवस्था छैन ।
एसएसपी ज्ञवालीका अनुसार परिचयपत्रको दुरुपयोग बढेपछि पत्रकारमाथि समेत कडाइ हुने छ ।एक महिनायता उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।