Logo
१३ मंसिर २०८१, बिहीबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको तेस्रो चरणको परीक्षण स्थगित

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप अन्तिम चरणको मानवीय परीक्षण तत्कालका लागि स्थगित भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो ।

एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिमा असामान्य बिमारी देखिएकाले परीक्षण तत्कालका लागि रोखिएको बताएको छ ।
खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसलाई सहभागी गराएको थियो ।

तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको बीबीसीले जनाएको छ ।

जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुन्छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको बीबीसीले जनाएको छ ।

अहिले विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । तीमध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको तेश्रो परीक्षण चल्दै थियो । यो परीक्षण सफल भएमा उत्पादनमा जान सकिने खबरमा उल्लेख छ । तर खोप लिएका एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित भएको छ ।

धेरै संख्यामा परीक्षण गर्दा एकाध व्यक्ति बिरामी पर्नु सामान्य रहेको विज्ञहरु बताउँछन् । तर ती व्यक्तिको अस्पतालमा जाँच गर्दा बिरामी पर्नुको कारण पत्ता नलागेमा त्यो खोप उत्पादन नै रोकिने बीबीसीले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो ट्रायलमा बिरामी हुने सम्भावनाहरु रहने तर यसको सावधानीपूर्वक जाँच आवश्यक रहेको बताएका बीबीसीले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताएका छन् । तर उनको यो टिप्पणीले विज्ञलाई त्रसित बनाएको छ ।

राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको तर ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउने तर्फ सचेत गराएका छन् ।

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्