आज सामाजिक दूरी कायम गरेर रातो मछिन्द्रनाथको रथ तानिँदै
आज रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ यससँगै आज ललितपुरका बासिन्दाले ‘छ्वयलाभू’बनाउने भएका छन् ।
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गास्बहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ।
दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ ।यससँगै रथलाई साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज आइतबार छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् ।
विगतका वर्षहरुमा रथलाई जुन जुन ठाउँमा विश्राम गराइयो त्यस क्षेत्रका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो ।
यसपालि साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका छन् ।
रथ तान्नको लागि उनीहरु आज दिउँसो ३ बजे गास् बहालमा भेला हुने छन् । रथ तान्नेहरुको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ।
त्यसपछि ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन ९सम्भवतः भदौ २६ गते० रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।
स्वास्थ्य सुरक्षाका लागि पाँच सय वटा मास्क, पन्जा र भाइजर तथा १५ लिटर स्यानिटाइजर व्यवस्था गरिने भएको छ। ५ जोर धिमे बाजा बजाउनको लागि २० जना, काः बाजा बजाउने ४ जना र २ जोर नायखिं बाजा बजाउनको लागि ४ जनाको टोली तयार गरिने भएको छ । रथलाई हपाः दिने जिम्मा काय्गु ननी टोलले लिएको छ ।
त्यस्तै मच्छिन्द्रनाथ र मीननाथको रथ सँगसँगै बस्नको लागि ज्यापू समाज यल, नेपालभाषा मंका खल यल, १९ वटा जातीय समूहका अध्यक्ष, ललितपुर महानगरपालिकाका मेयर, उपमयेर, सांसद, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गुठी संस्थानका प्रमुख, जात्रा व्यवस्थापनका संयोजकलगायत गरेर १२२ जना बस्ने भएका छन् ।
त्यस्तै किरण डंगोलको संयोजकत्वकमा गाःबहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुग समिति, लंगया समिति, जावलाखेल समिति, विभिन्न जातीय समूहको तर्फबाट १२४ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।
विगतका वर्षहरुमा मच्छिन्द्रनाथलाई पुल्चोकमा तयार पारिएको रथमा राखिएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल र जावलाखेल पुर्याइन्थ्यो ।
रथ जावलाखेल पुर्याएको दिन भोटो देखाउने जात्रा हुन्थ्यो ।जात्रामा राष्ट्राध्यक्षसमेत सहभागी हुने परम्परा छ । तर यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण भोटो देखाउने जात्रा हुने छैन ।
सोमबार भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान लगिनेछ ।
यसैसँगै २०७७ सालको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।