Logo
१७ कार्तिक २०८१, शनिबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री खतिवडाको भविष्य निर्धारण र गौतमबारे थप निर्णय गर्न ३ बजे नेकपाको बैठक

सत्तारूढ नेकपाको आज सचिवालय बैठक बस्ने भएको छ ।

नेकपा नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बालुवाटारमा बस्ने बताएका हुन् ।

उनले आज ११ बजे बस्ने भनेको सचिवालय बैठक ३ बजेका लागि सारिएको जनाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो ।

पार्टी एकताका लागि सहमतिको खाकालाई अन्तिम रुप दिनेबारे छलफल केन्द्रित हुने भएकाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक निकै महत्वपूर्ण हुनेछ ।

बैठकमा पार्टी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलको सुझावलाई अन्तिम रुप दिई पारित गर्नेबारे छलफल हुने बुझिएको छ ।

यसबारे वृस्तृत छलफल गरी स्थायी कमिटी बैठकमा सहमतिको खाकालाई पारित गर्नेबारे छलफल हुने सचिवालयका एक नेताले जानकारी दिए ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लाने पुरानो निर्णय कार्यान्वयन गर्नेबारे पनि सचिवालयमा छलफल हुने भएको छ ।

यसैगरी राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने वा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई लैजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

गत फागुन १४ गते सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।

उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीलाई निरन्तर दवाव दिँदै आएका छन् ।

दाहाल पक्षका नेताहरुले गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने अडान दोहोर्‍याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने खतिवडालाई नै दोहोर्‍याउने पक्षमा रहेको बताउँदै आएका छन् ।

गौतम सरकारबाट सिफारिश भई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य बन्न इच्छुक देखिएका छन् ।

उक्त निर्णय कार्यान्वयनको टुंगो लगाइने गरी छलफल हुने बुझिएको छ । बैठकमा मन्त्रिमण्डल पुर्नगठनसम्बन्धी विषयबारे पनि छलफल हुने भएको छ ।

कार्यदलको सुझावमा यो विषय पनि उल्लेख छ ।
बैठकमा यी एजेन्डाबारे गम्भीर छलफल गरी स्थायी कमिटी बैठकबाट पारित गराउनेबारे छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्