चीनमा परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकियो
यतिबेला कोरोनाविरुद्धको खोप निर्माणमा धरै विकसित देश लागि परेको अवस्थामा चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकेको छ ।
उक्त कम्पनीले कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ ।
परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।
कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो ।
चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो ।
कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ ।
विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ वटामध्ये आधा खोप चिनियाँ हुन् । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।
एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् । अमेरिका, ब्राजिल र भारत सबैभन्दाबढी कोरोना संक्रमण र ज्यान गुमाउने देशमा पर्छन् ।