Logo
१८ पुस २०८१, बिहीबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनामुक्त दर ५६.५ प्रतिशत, संक्रमण अझै बढ्न सक्ने : स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप फैलिरहेको अवस्थामा पछिल्लो तथ्यांक अनुसार कुल कोरोना संक्रमितमध्ये ५६.५ प्रतिशत निको भएका छन् ।

बिहीबार ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको जसमध्ये ५६.५ प्रतिशत निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १ हजार एक सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

१ सय ४७ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । अहिले ६ हजार २ सय १० जना होम आइसोलेशनमा छन् । ९ हजार ४ सय ८८ जना भने क्वरेण्टीनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार काठमाण्डौमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनालाई कोरोना पुष्टि भएको हो । एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

काठमाण्डौ, ललितपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही गरी ८ जिल्लामा सङ्क्रमितको संख्या ५ सयभन्दा धेरै छ । ५ सयभन्दा माथि सङ्क्रमित भएको जिल्लाको संख्या बढेको छ ।

मुस्ताङ र हुम्लामा मात्र सङ्क्रमितको संख्या शून्य छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण आउँदो केही दिनमा थप बढ्ने आँकलन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उनको भनाइ छ ।

उनले सङ्क्रमण देखिएपछि आइसोलेशनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेशनमा बस्न अनुरोध गरे ।

सकारात्मक सोच र चिन्तन गरी सबैले आ-आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।

उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतीको सामना गर्नुपर्ने भएकाले सचेत हुन आग्रह गरे । प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे ।

सङ्क्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए  ।

उनका अनुसार कोभिड-१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ ।

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्