नेपालगञ्जका ३७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
प्रदेश नं ५ स्थित बाँकेमा कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ।
मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
नेपालगञ्जका ३७ वर्षीय पुरुषको दुवै फोक्सोमा निमोनिया भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो।
मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार भइरहँदा मंगलबार राति एक बजेर ३० मिनेटमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
बिहान १० बजे भर्ना गरिएका उनको ११ बजे स्वाव लिइएको थियो । भोलिपल्ट ९ गते दिउँसो तीन बजे कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
आज बुधबार बाँके जिल्लाबाट ६ जना कोरोनामुक्त भई डिस्चार्ज हुँदैछन् । साउन २८ गते कोरोना पुष्टि भएका उनीहरु होटल र खजुरास्थित कोरोना विशेष अस्पताल रहेका थिए।
बाँकेमा अहिलेसम्म ५ जनाको कोरोनाबाट ज्यान गइसकेको छ । बाँके जिल्लामा मात्र ८४४ जना कोरोना संक्रमित भएका छन् भने ६६० जना कोरोना मुक्त भइसकेका छन् । हाल १७९ जना कोरोना संक्रमित उपचारमा रहेका छन् ।