कैलालीको घोडाघोडीमा आइसोलेशनमा रहेकी ३५ वर्षीय महिलाको मृत्यु
सुदूरपश्चिम प्रदेश स्थित कैलालीको घोडाघोडी नगरपालिकाको आइसोलेशनमा रहेकी ३५ वर्षीय महिलाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेशनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भारतको अस्पतालमा उपचार सम्भव नभएको भनेपछि ती महिलालाई घर ल्याईएको बुझिएको छ ।
मृतक महिलाका दुवै किडनी फेल भएकाले भारतबाट घर ल्याइएको प्रहरी निरीक्षक बताए । प्रहरी निरीक्षक रोकायाले ती महिला केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी बताए ।
‘श्रीमान र छोरासहित घोडाघोडीमा आफन्तको घर आएकी थिइन्’ उनले भने, ‘श्रीमान र छोरामा कोरोना भाइरसको संक्रमण देखिएपछि महिलालाई पनि वडा नम्बर ११ को आइसोलेशनमा राखिएको थियो, सोमबार साँझ उनको मृत्यु भएको छ ।’
उनको स्थायी घर बझाङ रहेको पनि प्रहरी निरीक्षक रोकायाले बताए । मृतकको स्वाब संकलन गरी परीक्षण गरिने छ ।