Logo
२० कार्तिक २०८१, मंगलबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेवलाई उपप्रधानमन्त्री बनाउने मुडमा ओली तर गौतम भने पार्टीको विशेष जिम्मेवारी माग्दै

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान नजिक पुगेपछि सबै शिर्ष नेताहरुले आआफ्ना लविंगका नेताहरुलाई ब्यवस्थापन गर्ने प्रयासमा लागि परेका छन् ।

यसैबीच प्रधानमन्त्री केपि शर्मा ओली भने आफ्ना निकटतम नेता बामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने मुडमा पुगेका छन् । तर गौतम भने पार्टीको विशेष जिम्मेवारी माग्दै आएका छन् ।

यता, आपसी सहमती अनुसार मन्त्रिमण्डल पनि पुर्नगठन हुने भएको हो । जसमा मन्त्रीमण्डलमा यसपटक नेकपाका केही प्रभावशाली नेताहरु समेतले स्थान पाउने बताइएको छ ।

प्रधानमन्त्रीद्वारा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई पनि महत्वपूर्ण मन्त्रालय सहित उपप्रधानमन्त्री बन्न प्रस्ताव पुगेको छ । उनलाई प्रधानमन्त्रीले बालुवाटारमा बोलाएरै सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् ।

तर, गौतमले आफू भविष्यमा पार्टीको नेतृत्वमा पुग्ने गरी काम गर्ने र त्यसका लागि अहिले देखि नै सहयोग गर्न आग्रह गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

गौतमले पटक पटक ओलीलाई सहयोग गरेको र त्यसको गुन चाहेको स्पष्ट भनेका छन् । उनले भविष्यमा एकता महाधिवेशनमा आफू अध्यक्षको दाबेदार रहेको खुलस्त बताएका छन् ।

ओलीले भने मिलेर जाऔं भन्दै आफूलाई पटक पटक सहयोग गरेकाले त्यसको उचित समयमा साथ दिएर देखाउने बताएको बुझिएको छ । प्रधानमन्त्री ओलीले इमान र जमानको विषय समेत गौतमसँग गरेको विश्वस्त स्रोतले बताएको छ ।

सरकारले राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित गर्न बाँकी एक सिटमा लाने चाहना प्रधानमन्त्री ओलीले गौतमलाई गरिसकेको बुझिएको छ ।

ओलीले चुनाव हारेका बामदेव राष्ट्रियसभामा मनोनित भएपछि सरकारमा जान मिल्छ कि मिल्दैन भनी कानुनी परामर्श समेत गरेका छन् ।

गौतमलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी ओलीको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को हप्ता सांसद मनोनित नभए पद छाड्नुपर्ने हुन्छ ।

उनले मनोनित नहुने सिग्नल पाइसकेका छन् । बिदावारीको कुरा समेत निकटस्थसँग भनिसकेका छन् । खतिवडाकै स्थानमा गौतमलाई लानेबारे छलफल बढेको छ ।

गौतमले भने सरकारमा जाँदा भविष्यमा पार्टीको नेतृत्वमा पुग्ने सम्भावनामा के कस्तो असर पर्छ भन्नेबारे समेत निकटस्थसँग परामर्श थालेका छन् ।

उनले ओलीको साथ लिएर नेकपा नेतृत्वमा जाने रणनीति समेत बनाएका छन् । तर, ओली फेरि एकपटक अध्यक्षको दाबेदार बन्ने या प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने सम्भावना पनि उत्तिकै छ ।

पछिल्लो समय ओलीलाई पाँच वर्ष पूरा कार्यकाल चलाउन दिने प्रचण्डको सहमतिमा केही राजनीतिक लेनदेन पनि हुनसक्ने बुझिएको छ ।

जसमा प्रचण्डलाई आगामी महाधिवेशनमा ओलीले अध्यक्ष बन्न साथ दिने विषय पनि रहेकोबारे नेकपाभित्र चर्चा छ । यसलाई मध्यनजर गरी गौतमले सरकारमा जाँदा नेतृत्वको दाबेदारी कति बलियो या कमजोर हुन्छ भनी जोखाना समेत गर्न थालेका छन् ।

यसपटक ओली सरकार ढल्न लाग्दा अभयदान दिएको गुन खोज्ने उनको रणनीति हुनसक्छ । यसअघि ओलीलाई नेकपा एमालेको अध्यक्ष बनाउँदा पनि उनी नै निर्णायक बनेका थिए ।

पटक पटक साथ दिएका कारण यसपटक ओलीको साथ पाउनेमा उनी ढुक्क छन् ।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्