वीरगञ्जमा कोरोनाबाट ५६ वर्षीया महिलाको मृत्यु
प्रदेश नं २ स्थित वीरगञ्जमा कोरोना संक्रमणबाट ५६ वर्षीया महिलाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो
। पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।