Logo
२० कार्तिक २०८१, मंगलबार
(August 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुनसुकै अस्पताललाई जतिसुकैबेला कोरोना अस्पताल बनाउन सकिने संघीय सरकाको निर्णय

संघीय सरकारले आवश्यकता अनुसार जुनसुकै अस्पताललाई पनि कोरोना संक्रमितको मात्रै उपचार हुने अस्पताल बनाउने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले निजी, सहकरी, सरकारी, सामुदायिक जुनसुकै प्रकारका अस्पताललाई पनि कोरोना डेडिकेटेड बनाउन सक्ने निर्णय लिएको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले त्यस्तो निर्णय लिएको जानकारी दिएका हुन् ।

सरकारले आवश्यकताअनुसार सामुदायिक, निजी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई समेत प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार बेडको प्रबन्ध गर्ने र आवश्यकता अनुसार थप व्यवस्था गर्दै जाने निर्णय लिएको उनले बताए ।

त्यस्तो गर्दा कसैले विरोध गरेमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो । पछिल्लो समय निजी अस्पतालका संचालकले कोरोना संक्रमणको उपचार गर्न अस्पताल प्रयोग गर्न नदिने र बाधा पार्ने भन्दै प्रतिक्रिया आएकोप्रति लक्षित गर्दै कारबाहीको निर्णय लिनुका पछाडि सोही कारण रहेको मन्त्री खतिवडाको संकेत थियो ।

त्यस्तै, उपत्यकाबाहेकका क्षेत्रमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रमण जोखिमको विश्लेषणको आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

त्यसका लागि प्रदेश कोभिड- १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रले आवश्यक समन्वय गर्ने, आइसोलेसन व्यवस्थापन र सञ्चा‍लनका लागि आवश्यक बजेट प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण उपचार कोषबाट उपलब्ध गराउने, आइसोलेसनको सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति: Aug 21, 2020

प्रतिक्रिया दिनुहोस्