Logo
६ आश्विन २०८१, आईतबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा विवाद समाधानसम्बन्धि कार्यदलले शुक्रबारसम्म प्रतिवेदन बुझाउने

नेकपामा विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले ढिलोमा शुक्रबारसम्म प्रतिवेदन बुझाउने गरी काम थालेको छ।

गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सम्मिलित कार्यदल गठन गरिएको थियो।

कार्यदलका एक सदस्यका अनुसार अब तीन दिनभित्रै प्रतिवेदन बुझाउनेगरी उनीहरु काममा खटिएका छन्।

शुक्रबार दुई अध्यक्षद्वारा गठित कार्यदलको शनिबार नै पहिलो बैठक बसेको थियो। तर, वरिष्ठ नेताहरुले नै त्यसलाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने बताएका थिए।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनको विषय पार्टी कमिटीबाट अनुमोदन गर्नुपर्ने माग गरेपछि कार्यदलले आइतबार र सोमबार काम गर्न सकेको थिएन।

सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेपछि मंगलबारदेखि उनीहरु काममा जुटेका हुन्।

‘पार्टीभित्र वैधानिकताको कुरा उठेपछि कार्यदलले बल्ल आज (मंगलबार)देखि काम अघि बढाएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘तीन दिनभित्र प्रतिवेदन बुझाउनेगरी काम भइरहेको छ।’

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा कार्यदलको बैठक बसेको थियो।

शुक्रबार गठन गरिएको कार्यदलले पहिलो बैठक शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको निवास भैँसेपाटीमा बैठक राखेको थियो।

पार्टीसँग असम्बन्धित व्यक्तिको घरमा बैठक बसेको भन्दै आलोचना भएपछि कार्यदलले मंगलबारको बैठक भने पार्टी कार्यालयमा राखेको हो।

कार्यदल गठन भएको एक हप्तामै प्रतिवेदन बुझाउने योजनाका साथ कार्यदलले कामलाई तीव्रता दिएको छ।

‘कार्यदलले ढिलोमा शुक्रबारसम्म लिखित प्रतिवेदन बुझाउँछ,’ कार्यदलका ती सदस्यले भने, ‘आफ्नो तर्फबाट प्रतिवेदनलाई अन्तिम रुप दिनासाथ दुई अध्यक्षलाई बुझाउनेछौं।’

कार्यदलले प्रतिवेदन बुझाएलगत्तै ओली र प्रचण्डबीच शनिबार छलफल हुने सम्भावना रहेको उनको भनाइ छ।

‘हामीले प्रतिवेदन शुक्रबार नै हस्तान्तरण गर्न सक्यौं भने शनिबार दुई अध्यक्षबीच त्यसमाथि छलफल हुनेछ र त्यसपछि सचिवालय बैठक डाकिन सक्छ,’ उनले भने।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्