वीरगञ्जमा २९ जना कोरोनामुक्त भई घर फर्किए
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पीटलमा उपचाररत २९ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।
कोरोना संक्रमणमुक्त हुनेमा ५ जना महिला र २४ पुरुष रहेका छन् ।पोखरिया र वीरगञ्ज श्रीपुर घर भएका मिर्गौला रोगी दुई जना महिलाले पनि कोरोनालाई जितेका छन् ।
उनीहरुलाई हेल्थ केयर अस्पतालमा तीन पटकसम्म डायलायसिस गरिएको थियो ।संक्रमणमुक्त हुनेहरुमा पर्साका २५ जना तथा दैलेख, धादिङ, बाँके र झापा घर भई वीरगञ्जमै कार्यरत ४ जना कोरोना संक्रमणमुक्त भएको अस्पतालले जनाएको छ ।
पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको र संक्रमणमुक्त भए पनि १४ दिन होम क्वारेन्टिन बस्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
संक्रमणमुक्त भएकामध्ये ४ जनालाई रेमडिसिभर औषधि चलाएर निको पारिएको अस्पताल स्रोतले जनाएको छ ।