बालाजु बाइपासमा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयको प्रदर्शन
बाग्मती प्रदेश स्थित काठमाण्डौको बालाजु बाइपासमा रहेको सडक विगत सात बर्षदेखि कालोपत्रे हुन नसकेको सो अबस्थामा बाटो हिलाम्मेभई जनताले सास्ती भोग्नु परेको भन्दै स्थानीयवासीले विरोध प्रदेर्शन गरेका छन् ।
बालाजु बाइपास सडक तत्काल विस्तार गर्न र कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार बिहान प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा स्थानीयले ‘सरकार बाटो चाँडै बनाइदेऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
२०१७ सालसम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र उक्त विद्यालय पछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई सरकारले घर वापत आवश्यक मुआब्जा २०७१ सालमै दिइसकेको छ ।
मुआब्जा पनि लिने, सार्वजनिक जग्गा पनि अझै आफूहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमा सदिऔंदेखि बसोबास गर्दै आएका स्थानीय विरोधमा उत्रिएका हुन् ।
एउटा घरको भग्नावशेष बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ ।
तर ती टहरामा बसीरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानिय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।
बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेचसमेत गरिएको थियो ।
सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।
बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् ।
आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरे पनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएकाले आफूहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ ।
ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानीयले पटक पटक माग गर्दै आइरहेका छन् ।
सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ । बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ ।