Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विज्ञले प्रधानमन्त्रीलाई भने : २ हप्ता लकडाउन, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ !

जनस्वास्थ्य विज्ञहरुले लकडाउन फेरि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन् ।

विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए ।

बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’

उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताएका छन् ।

उनले भने, ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुस् भनेर आज सुझाव दिएको छु ।’

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताएका छन् । विज्ञहरुले पनि यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने भन्दै थप २ हप्ता लकडाउन घोषणा गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाएको ठाकुरले बताए ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्