Logo
१८ पुस २०८१, बिहीबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालगृहमा बुझाएको बच्चालाई अलपत्र भनि झुटो प्रचार गरेको खुलासा

केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले बालगृहमा बुझाएको बच्चालाई अलपत्र भनि झुटो प्रचार गरेको खुलासा भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार साउन १३ गते कार्टुनमा राखिएको बच्चा अरुले अलपत्र नपारेको तर बालगृहकी सचालिकाले झूटो प्रचार गरेको बताएका छन् । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् ।

उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी थिइन् । संस्थाकी सञ्चालक पुष्पाले प्रहरीमा बेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिइन् र सहयोग लिन थालिन् ।

त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरिन् । प्रहरीले आमाको दाबी स्वीकार गरेको छ र बच्चा उनलाई जिम्मा लगाएको छ ।

जब शिशु बेवारिसे होइन भन्ने खुल्यो, बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ ।

जब शिशु बेवारिसे अवस्थामा भेटिएको खबर सार्वजनिक भयो, सहयोगी हातहरु अगाडि आएका थिए । अहिलेसम्म झण्डै ६ लाख रकम बालगृह सञ्चालिकाको हातमा परिसकेको थियो भने रकम उठ्ने क्रम पनि चलिरहेको थियो ।

संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले स्रोतले बताएको छ । यसका लागि प्रहरीले संस्थासँग सम्बन्धित व्यक्तिको बैंक विवरण मगाएको छ । तर पुष्पाले भने आफूलाई पछि अफ्ठ्यारो नपरोस् भनेर बेवारिसे बच्चा फेला परेको भनेको बयान दिएकी छन् ।

घटनाबारे अनुसन्धान भइरहेको एसएसपी ज्ञवालीले बताए ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्