पर्यटन बोर्ड आम्दानी विहिन, ४३ जना करारका कर्मचारी कटौती
कोरोना भाइरसका कारण गत चैतदेखि कमाईबिहिन बनेको नेपाल पर्यटन बोर्डले करारमा नियुक्त कर्मचारी कटौती गरेको छ । बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक ४३ जना करारका कर्मचारी बोर्डले कटौती गरेको हो ।
त्रिभुवन विमानस्थलबाट विदेशी जाने प्रत्येक हवाई यात्रुबाट नेपाल पर्यटन बोर्डले एक हजार रुपैयाँ उठाउने गरेको थियो । कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण बोर्डले उठाउने गरेको उक्त रकम गुम्न पुग्यो । यसबाट उठेको रकम नै बोर्डको मुख्य आम्दानी हो ।
बोर्डलाई सरकारले छुट्टै रकम दिँदैन ।यसबाहेक पदयात्रामा जाने पर्यटकलाई दिइने टीम्सकार्ड बिक्री समेत बोर्डको आम्दानीको स्रोत हो । पर्यटक आगमन बन्द भएपछि अहिले बोर्ड आम्दानीविहीन बनेको छ ।
आम्दानी घटेसँगै कामको चाप नहुँदा करारका कर्मचारी नवीकरण गर्न असमर्थ रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले बताए ।