पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश नं २ स्थित पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सामा कारागारमा रहेका कैदी बन्दी, नेपाल प्रहरी, सेना र स्वेच्छाले परीक्षण गराएका ३४ जनामा कोरोना संक्रमण देखिएको हो । २ सय ७४ जनाको स्वाब परीक्षण गरिएकोमा ३४ जनामा संक्रमण देखिएको हो।
वीरगञ्जको नारायणी अस्पतालमा मंगलबार रात गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमण देखिएका मध्ये नेपाल प्रहरीका ३ जना, सेनाका एक, वीरगञ्ज कारगारमा रहेका कैदी बन्दी ६ जना, कारागारका कर्मचारी दुईजना, दुई जना स्वास्थ्यकर्मी तथा पैसा तिरेर स्वेच्छाले परीक्षण गराएका एकजनामा पनि संक्रमण देखिएको छ ।
संक्रमीतहरु २ देखि ६५ वर्ष उमेर समूहका रहेका छन् । संक्रमण देखिनेमा ५ बालबालिका र १० जना महिलाहरु रहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।
संक्रमण देखिनेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५,९, ११ श्रीपुर, ३२ टोलका गरि महानगरका स्थानीयहरुमा संक्रमण देखिएको हो ।