Logo
५ आश्विन २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरूङमार्ग बनाउन विस्फोटक पदार्थ खरिद गरिदै

सीतापाइला–नौविसे सुरूङमार्ग निर्माणको लागि आवश्यक पर्ने विस्फोटक पदार्थ खरिदको जिम्मा ठेकेदार कम्पनीले नै पाएको छ। जापानी कम्पनी हाज्मा एन्डोले सुरूङमार्ग निर्माणको जिम्मेवारी पाएको छ।

विस्फोटक पदार्थ ठेकेदार कम्पनीले नै खरिद गर्ने गरी सुरक्षा निकाय र गृहमन्त्रालयबाट अनुमति लिएको सीतापाइला–नौविसे सुरूङमार्ग आयोजनाका प्रमुख रूपक राजभण्डारीले बताए।

विकास आयोजनाका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ ल्याउन र प्रयोग गर्न सुरक्षा निकायको अनुमति लिनुपर्ने प्रावधान छ। “विस्फोटक पदार्थ ल्याउने अनुमति लिएर खरिदको प्रक्रिया शुरू गरेको छ। विस्फोटक पदार्थ नभएर काम रोकिएको छैन। बरू लकडाउनको कारण चाहीँ आयोजनाको काम प्रभावित भएको छ”, राजभण्डारीले भने।

२ दशमवल ६८ किलोमिटर लम्बाइको सुरुङ मार्ग निर्माण सम्पन्न गर्न सरकारले निर्माण कम्पनीलाई ४२ महिनाको समय दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक ४ गते सुरूङ मार्ग शिलान्यास गरेका थिए। त्यसअनुसार २०८० सालको वैशाखमा सुरूङ मार्ग निर्माण सम्पन्न भइसक्नुपर्ने छ।

लकडाउनको कारण काम झन धेरै प्रभावित भएको राजभण्डारीले जानकारी दिए। “लकडाउनको कारण सवारी साधन आवतजावतमा समस्या भयो। त्यसले गर्दा कामदार आउन सकेनन्। लकडाउन खुलेपछि अब आयोजनाको काम नियमित हुँदै छ”, उनले भने। लकडाउन शुरू हुनु अगाडि सुरूङसम्म पुग्ने गरी पहुँचमार्ग निर्माणको काम भइरहेको थियो।

लकडाउनको कारण करीब चार महीना काम प्रभावित हुँदा लक्षित समयमा आयोजना निर्माणको काम नसकिने सम्भावना बढेको छ। अहिले ठेकेदार कम्पनीले आयोजनाको निर्माण अवधिको बारेमा पुनरावलोकनको काम थालेको छ। त्यसपछि मात्रै लकडाउनको प्रभावको कारण आयोजना कति पछि धकेलियो भन्ने यकिन हुने सडक विभागका अधिकारीहरूले बताएका छन्।

सुरुङमार्ग निर्माणका लागि जापानसँग नेपालले ४० वर्षका लागि ऋण लिएको छ। दश वर्षपछि नेपालले ऋणको ब्याज तिर्न शुरू गर्नुपर्नेछ। २२ अर्बको आयोजनामा १६ अर्ब ऋण जापानसँग लिइएको छ। त्यसबाहेक ६ अर्ब रूपैयाँ नेपालले लगानी गर्दैछ। जापानी ऋणको ब्याजदर ०.०१ प्रतिशत हुने तय भएको छ।

सुरूङमार्ग निर्माण गर्दा दुई वटा सुरूङ निर्माण हुनेछ। एउटा सुरूङमा सवारी गुड्नेछ। अर्को दुर्घटनाको अवस्थामा उद्धर लगायतका कार्यमा प्रयोगमा ल्याउने गरी निर्माण गर्न लागिएको छ। दुवै सुरूङ ठाउँ ठाउँमा भूमिगत रूपमै जोडिनेछन्। यो आयोजना सम्पन्न भएपछि नेपालको पहिलो सुरूङ मार्ग बन्नेछ। यसको अर्थ, यही आयोजनाबाट नेपाल सुरूङ युगमा प्रवेश गर्नेछ।

नागढुङ्गामा घन्टौ लामो हुने सवारी जाम समस्याबाट पनि यो सुरूङमार्गले मुक्ति दिलाउने छ। सतुंगलदेखि झ्याप्लेखोलासम्मको २.७ किलोमिटर सुरूङले हालको १२ किलोमिटर बाटोलाई विस्थापित गर्नेछ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्