Logo
५ आश्विन २०८१, शनिबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा पूर्वमहामन्त्री सुनिल थापासहितका नेताहरु नेपाली कांग्रेसमा जाँदै, पदमा बर्गेनिङ सुरु


राप्रपा पूर्वमहामन्त्री सुनिल थापासहितका नेताहरु नेपाली कांग्रेसमा जाने तयारीमा लागेका छन । नेपाली कांग्रेसमा जानका लागि उनीहरुले पदमा बर्गेनिङ सुरु गरेको उच्च स्रोतले बतायो ।

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलसहित ३१ जनाले शनिबार राप्रपामा राजीनामा बुझाएका थिए। थापाले कांग्रेसमा महामन्त्री पद पाउनुपर्ने बताएका छन् भने केही नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखेको स्रोतको भनाइ छ।

सभापति देउवालगायतले सहमहामन्त्री पद दिन सकिनेमा छलफल गरेका छन् तर टुंगो भइसकेको छैन।

थापाले राप्रपामा गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए। वैचारिक मतभेदका कारण उनी राप्रपा छाडेर कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन्।

शनिबार राप्रपालाई संयूक्त रूपमा बुझाएको राजीनामा पत्रमा पनि थापाले पार्टीमा सैद्धान्तिक रूपमा बिचलन आएको उल्लेख गरेका थिए।

राप्रपा नेता मोहन श्रेष्ठले थापालगायतलाई निर्णय पुनर्विचार गर्न आग्रह गरिरहेका छन्। राप्रपामा बसेर गणतन्त्रको कुरा गरेकोले त्यो सम्भव नरहेको राप्रपाले थापालाई बताउने गरेको थियो।

श्रेष्ठले थापालाई बाबु सूर्यबहादुरको राजनीतिक बिरासतबाट पनि च्यूत भएको बताए। ‘राजीनामाको निर्णयमा उहाँले पुनर्विचार गर्नुपर्छ,’ उनले भने, ‘उहाँले नेपालको राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनलाई ठूलो धोका दिनुभएको ठहर्छ। र त्यो गम्भीर भुल हुनेछ।’

थापा धनकुटा र भोजपुरको कार्यसमितिसहित केही केन्द्रीय सदस्य लिएर कांग्रेस प्रवेश गर्न लागेका हुन्।

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्