Logo
५ आश्विन २०८१, शनिबार
(July 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले खोला थुन्दा गोरखामा ७० परिवार जोखिममा

गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ।

धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो। पहिरोले विगत नौ घण्टादेखि खोला थुनिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

सिरानमा पहिरोले खोला थुनिएपछि त्यसमुनीका गाउँ जोखिममा परेका छन्। ‘केही समयदेखि थुनिएको पानी सानो निकासबाट बग्न थालेको छ,’ एसपी गुरुङले भने, ‘जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १२ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।’

उनले सानो निकासबाट थुनिएको पानी बग्न थाले पनि जोखिम टरिनसकेको बताए।

मापुमा डाँडा नै भासिएर झरेको पहिरोले खोला थुनेको हो। पहिरो झर्ने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको स्थानीयले बताएका छन्।

घटनास्थलमा माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी गुरुङले जानकारी दिए। ‘थुनिएको पानी एकैसाथ खोलिए जोखिम हुनसक्छ,’ एसपी गुरुङले भने, ‘खोला आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सचेत रहन आग्रह गरेका छौँ।’

खोला आसपासका क्षेत्रमा करिब ७० घरधुरीको बसोबास छ। खोला आसपास क्षेत्रका अरू बस्ती पनि सार्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए।

खोला थुनिएपछि त्यस आसपासको बाटोबाट पैदल आउजाउ पनि बन्द गरिएको एसपी गुरुङले जानकारी दिए।

प्रकाशित मिति: Jul 25, 2020

प्रतिक्रिया दिनुहोस्