कुमारी बैंकद्वारा भैरव नवदीप उच्च माविलाई शैक्षिक सामग्री सहयोग
कुमारी बैंकले पाल्पास्थित श्री भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
कोभिड-१९ को यस विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठनका लागि सहयोग हुने हेतुले केही थान कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।
अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ सो सामग्री बैंकले विद्यालयलाई सहयोग गरेको जनाएको छ ।
बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई सो शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुर्याउनु रहेको बैंकले जनाएको छ ।
आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटीएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकले आफ्ना ग्राहकवर्गलाई सेवा दिँदै आएका छ ।
बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउने प्रतिबद्धता जनाएको छ ।