Logo
५ आश्विन २०८१, शनिबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण बन्द होटेलका मजदुरले अब महिनाको बढीमा १० हजार तलब पाउने

कोरोनाका कारण होटल व्यवसाय लामो समयदेखि बन्द रहेकाले त्यहाँ कार्यरत कर्मचारीलाई अब बढीमा १० हजारसम्म तलब दिने सहमति भएको छ।

होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल मुख्य तीन वटा केन्द्रीय ट्रेड युनियन संघकाबीचमा आज यस्तो सहमति भएको हो।

श्रम ऐन कानुन बमोजिम सेवा सुविधा उपलब्ध गराउन कठिन भएकाले श्रमिक तथा कर्मचारीको व्यवस्थापनका लागि डिसेम्बर ३१ सम्म लागु हुने गरी होटेलको अवस्था अनुसार बढीमा १० हजार र कममा ४ हजार ३ सय रकम प्रदान गर्ने सहमति भएको हो।

कोरोना कहरले होटेल पूर्ण रुपमा बन्द रहेकाले होटल संघ नेपालका सदस्य होटलहरूको आम्दानी शुन्य हुन गएकाले ‘बाँचौं र बचाऔं’ को नीति अनुरुप कर्मचारीको तलब कटौति गरिएको जनाइएको छ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणा, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका तर्फबाट अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजुर संघको तर्फबाट अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक संघका तर्फबाट अध्यक्ष खेमराज खड्कालगायतका सरोकार वाला निकायले उक्त निर्णय गरेका हुन्।

यो समहति अप्रिल १३ देखि डिसेम्बर ३१ सम्म लागू हुने बताइएको छ। सहमति भए अनुसार डिलक्स पाँचतारे (दुईसयभन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १० हजार रकम उपलब्ध गराइनेछ।

दुई सय कोठाभन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मासिक ९ हजार रकम उपलब्ध गराइने उल्लेख छ।
सय कोठाभन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीलाई मासिक ८ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइनेछ।

‘सय कोठाभन्दा कम भएका चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक ८ हजार पाउने छन्’, सहमति पत्रमा भनिएको छ, ‘तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक ५ पाँच हजार पाउने छन्।’

दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले मासिक ४ हजार ३ सय रकम पाउने छन्। यस्तै एक तारे र पर्यटक स्तरीय होटल तथा रिर्सोटमा कार्यरत कर्मचारीले भने आपसी समझदारीमा तलब पाउने उल्लेख गरिएको छ।

 

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्