ओलीसँग कुनै सहमति भएको छैन, छलफल गरौंसम्म भनेको हुँ : प्रचण्ड
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।
आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्। बैठकमा प्रचण्ड(नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्ड त्यसमा सकारात्मक थिए । तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको बताएका छन् ।
‘हाम्रो कुनै सहमति भएको छैन, छलफल गरौंसम्म भनेको हुँ’ उनले भनेका छन् । सहमति नभएको विषयलाई सहमति भएको भनेर प्रचार गरिएको समेत उनले बताएका थिए। यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।