ओली र प्रचण्डबीच सहमति जुटाउन राष्ट्रपति भण्डारी सक्रिय
पछिल्लो समयमा नेकपाभित्र विवाद चलिरहेको अवस्थामा ओली र प्रचण्डबीच सहमति जुटाउन राष्ट्रपति भण्डारी सक्रिय भएकी छिन् ।
नेकपा पार्टीभित्रको विवाद चर्कीएपछि मिलाउन लागि यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी हुन् ।
हिजो नेकपा सचिवालय बैठकलगत्तै उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर सहमति निकाल्न खोजिन् ।
स्रोतका अनुसार दुवै नेताको चाहना बुझेर उनले मंसिरभित्र महाधिवेशन गरी नेतृत्व हस्तान्तरणको मार्ग खोल्ने गरी सहमति बनाउन खोजेको बुझिएको छ ।
राष्ट्रपति भण्डारीले दुवै नेतालाई न्युनतम सहमतिको बिन्दु बनाउन मनाउन खोजेकी थिइन् ।
अहिलेलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको राजीनामाको एजेन्डा छाडेर एकता महाधिवेशनमा बढ्ने गरी सहमति निकाल्न भनेपछि प्रचण्ड सहमत भएनन् ।
महाधिवेशनपछि प्रचण्ड नै अध्यक्ष बन्ने र ओलीलाई पूरा कार्यकाल प्रधानमन्त्रीमा समर्थन जारी राख्ने गरी सहमति निकाल्न खोजिएको थियो । यसमा प्रचण्ड केही लचिलो भएपनि पूर्ण सहमत नभएको स्रोतले बताएको छ ।
ओली र प्रचण्डबीच सहमति बनाउने पहल भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित भएका छन् । उनले दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र नहुने अभिव्यक्ति सार्वजनिक गरे । उनले ओलीविरुद्ध देशव्यापी अभियान चलाउने चेतावनी समेत दिए ।
ओलीविरोधी क्याम्पभित्र कम्पन आएको सन्देश गइरहँदा प्रचण्डले भने सचिवालयमार्फत् सहमति नभएको खुलाए ।
उनकी छोरी गंगा दाहालले कुनैपनि विषयमा सहमति नभएको बताइन् । फेसबुकमा हिजोको बैठकबारे जानकारी दिदै गंगा दाहालले लेखेकी छिन्, सहमति खोज्ने क्रममा विभिन्न विषयहरुमा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं । उनले महाधिवेशन लगायतमा छलफल भएको खुलाइन् ।
ओलीवरोधी क्याम्पलाई कमजोर बनाउन व्यक्तिपिच्छे फरक फरक प्रस्ताव लाँदै आएका छन् । तरपनि विरोधी क्याम्प तोड्न सकेका छैनन् ।
ओलीले एकपछि अर्को अस्त्र हान्दै विरोधी क्याम्पलाई कमजोर बनाउन खोजिरहेका छन् । उनले कुनैपनि हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् ।