नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओलीले राजीनामाको मागलाई प्रतिवाद गर्ने
पटक-पटक स्थगित हुँदै आएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (शुक्रबार) बस्दैछ। यसअघि पार्टी भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगित हुने गरेको थियो।
आजको बैठकअघि पनि नेताहरुबीच सहमति जुट्नुको साटो विवाद थप चर्काे भएको छ। पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड-माधव नेपाल खेमाको माग छ। तर ओलीले उक्त माग लत्याएका छन्।
बिहीबार भएको छलफलमा दाहाल र नेपालले राजीनामा दिन आग्रह गर्दा ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको प्रक्रिया अघि बढाउन चुनौती दिएका थिए।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सुरु भएको विवाद सचिवालय, स्थायी समिति हुँदै अब केन्द्रीय कमिटीमा पुग्ने भएको छ।
बिहीबार अध्यक्षद्धय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवटारमा भएको छलफल विना निष्कर्ष टुंगिएपछि नेकपाको विवाद नयाँ मोडमा पुगेको हो।
बिहीबारको छलफलमा पनि दाहाल र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे पनि उनले यसअघि झै अस्वीकार गर्दै बहुमतबाट निर्णय लिन चुनौती दिए।
असार १८ गते यता ओली दाहालबीच विवाद समाधनका लागि भन्दै सातपटक छलफल भए पनि विवाद जहाँको त्यहीँ छ।
स्रोतका अनुसार ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने र दाहाल नेपालललाई बहुमतका आधारमा आफूलाई हटाउने निर्णय गर्न धम्क्याएका थिए।
दुई पक्ष आआफ्नो अडानमा स्थिर पनि नेताहरुले शुक्रबार (आज) बोलाएको स्थायी समिति बैठक नरोक्ने भएका छन्। नेकपा स्थायी समिति ४५ सदस्यीय छ भने केन्द्रीय कमिटीमा ४४१ जना छन्।
स्रोतका अनुसार ओली दाहाल र नेपालीबीच भएको छलफलमा शुक्रबार स्थायी समिति बैठकलाई निरन्तरता दिने र विवादबारे छिट्टै केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्ने सहमति गरेका छन्।
शुक्रबारदेखि पूर्व निर्धारित एजेण्डामै छलफल हुने एक स्थायी समिति सदस्यले जानकारी दिए। एक दुई दिनमा स्थायी समिति बैठक सकेर भदौ पहिलो हप्तामा केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु तयार भएका हुन्।
पार्टीको विवाद केन्द्रीय कमिटीमै छलफल हुनेपर्ने भन्दै नेता ठाकुर गैरेको नेतृत्वमा बैठक बोलाउन हस्ताक्षर अभियान पनि चलिरहेको छ। एक चौथाइ सदस्यले हस्ताक्षर गरेर बैठक माग गरे बोलाउनुपर्ने नेकपा विधानको व्यवस्था छ।
उता बालुवाटारमा भएको भेलामा ओली पक्षका नेताहरुले दुवै पदबाट राजीनामा नदिने अडानलाई यथावत राख्दै बहुमतबाट हुने निर्णयको प्रतिवाद गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिए।