Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शक्तिशाली सरकारका प्रधानमन्त्रीको बोलीले देशविदेशमा ‘तरंग’ !

दुईतिहाइ बहुमत नजिकको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति निकै विवादमा तानिएका छन ।

उनका भनाई, गराई एक पछि अर्को गर्दै विवादित बनेपछि ओली अब थप नैतिक संकटमा फस्ने देखिएको छ । पार्टी भित्र र बाहिर उनको चर्को आलोचना हुने क्रम बढेको छ भने कुटनीति मामिलामा समेत ओली असफल भएको निष्कर्श निकाल्न थलिएको छ ।

भगवान राम भारतमा नभई नेपालमा जन्मिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार व्यक्त गरेको पछिल्लो अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा ओलीको चर्को विरोध हुनुले ओली शक्तिशाली सरकारको नेतृत्व गर्न असफल भएको प्रष्टै भएको छ ।

उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले कालापानी क्षेत्रबाट भारतीय फौज हटाउनेबारे कुरा गर्नुपर्नेमा अयोध्याको कुरा उठाएर विषयान्तर गरिएको बताएका छन् । उनले देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकारमा छलफल गर्न समेत माग गरे ।

‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’ रावलले मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

अर्का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले वास्तविक अयोध्या नेपालमा रहेको भनेर दिएको अभिव्यक्ति फिर्ता लिई आत्मआलोचना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै गौतमले बरू प्राविधिक तथा इतिहासविदहरूको टोली बनाई अनुसन्धान र तथ्य संकलनमा लाग्न अनुरोध पनि गरेका छन् ।

’राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरूको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु,’ गौतमले लेखेका छन् ।

ओलीले २ वर्षअघि आफूलाई यसबारे भन्दा विना अनुसन्धान र विना प्रमाण यस्तो कुरा कहीँ व्यक्त नगर्न सुझाव दिएको पनि वामदेवले उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्यातिर ध्यान मोड्न छाडेर नयाँ नक्साअनुसार नेपाली भूमिमा हक कायम गर्न कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् ।

उनले भगवान राम हृदयमा रहेकाले राजु सदाहरूको चिन्ता गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रवक्ता शर्माले कोरोना र कालापानी सरकारका दुई कर्तव्य भएको उल्लेख गरेका छन् ।

‘हृदयमा छँदै छन् राम, चिन्ता राजु सदाहरूको गरौं । अयोध्यातिर ध्यान नमोडौं, संसद्बाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं । सम्झाउने कर्तव्य हाम्रो, बुझाउने जिम्मेवारी नेकपाको,’ शर्माले ट्वीटमा लेखेका छन् । यता केपी शर्मा ओलीको शासनसत्ता सडकबाट एकमहीना भित्रै ढलाईदिने भारतीय सन्तहरुले चेतावनी दिई सकेका छन ।

राम नेपालको अयोध्यामा जन्मिएको र भारतले सांस्कृतिक अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्तीप्रति कडा विरोध गर्दै भारतीय सन्त महन्थहरुको संस्था अखिल भारतीय आखडा परिषदले ओलीलाई कडा चेतावनी दिएको छ ।

परिषदका प्रमुख महन्थ नरेन्द्र गिरीले भोलि बुधवारदेखि नेपालमा आफ्ना अनुयायी सडकमा उत्रिने बताए ।

राजनीतिक दाउपेचका लागि विवादित अभिव्यक्ति दिने ओलीलाई एक महिनाभित्र प्रधानमन्त्रीको कुर्सीबाट हटाउने उनले चेतावनी दिए । उनले नेपाल पहिले हिन्दु राष्ट्र रहेको र कम्युनिस्ट तथा माओवादी शासनमा आएपछि सबै कुरा बिग्रिएको आरोप लगाए ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्