Logo
९ मंसिर २०८१, आईतबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले आत्मालोचनासहित राम जन्मभूमिबारेको अभिव्यक्ति फिर्ता लिनुपर्छ : बामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमिका बारेमा दुई वर्षअघि देखि नै छलफल चलाएको खुलासा गरेका छन् ।

उनले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ताँ लिँदै जनतासमक्ष आत्मालोचना गर्नु उपयुक्त हुने बताएका छन् । दुई वर्षअघि ओलीले बालुवाटारमा आफूलाई बोलाएर यसबारे चर्चा गरेको गौतमले बताएका हुन्।

यद्यपि आफूले त्यतीबेलै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह दिएको पनि गौतमले बताएका छन् ।

‘आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईँले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ ।

मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण बिना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो’, गौतमले फेसबुकमा लेखेका छन् ।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु’, गौतमले भनेका छन् ।

गौतमले रामजन्मभूमि नेपालमै रहेको कुरा तथ्य प्रमाणले पुष्टि गर्ने भए त्यसलाई इतिहासकारहरुले सार्वजनिक गरेको भए राम्रो हुने आशय व्यक्त गरेका छन् ।

‘क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ ।

उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् ।

यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौँ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ ।

संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन ।

त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर न त राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौँ’ गौतमले भनेका छन् ।

साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गौतमले आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्