Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीमा बाढी पहिरोमा परेर १० जनाको ज्यान गयो, १२ जना बेपत्ता

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेश स्थित म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।

उक्त बाढी र पहिरोमा परि १२ जना बेपत्ता भएका छन् ।बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका-७, विममा ८ जना र धवलागिरी-७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

यसैगरी धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताए । उनले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ ।

बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको उनले बताए । त्यस्तै अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

रघुगंगा खोलामा आएको बाढीले पुलमा पूर्ण क्षति पुर्‍याएपछि रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको सीधा यातायात सम्पर्कबिच्छेद भएको छ ।

रघुगंगा नदीमा अत्यधिक बहाव बढेकाले बेलिब्रिज नजिकै रहेको झोलुङ्गे पुल तथा आसपासका बस्तीहरु उच्च जोखिममा परेका छन् ।

त्यसैगरी अन्नपूर्ण-८, राम्चेको पुम्दीखोलाबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएको खानेपानीको ५ र ६ इन्चको जिआई पाइपमा पनि रघुगंगा नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि बेनीबजारमा खानेपानी आपूर्ति बन्द भएको छ ।

रघुगंगा नदीमा आएको बाढीले बेलिब्रिज बगाए पनि मानवीय क्षति भने नभएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

नदीमा उच्च बहाव आएको र बेलिब्रिजमा क्षति पुर्‍याउने अवस्था देखेपछि गलेश्वरवासीले मध्यराति नै खबर गरेपछि नदीको आसपासमा रहेका बस्तीबाट मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको उनले बताए ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्