Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोक बाढी अपडेट : बेपत्ता २० जनाको पहिचान खुल्यो, २ घाईतेको उद्धार

सिन्धुपाल्चोक : अविरल वर्षासँगै मध्यराति बाह्रबिसे नगरपालिका ५ जम्बुमा याल्मो खोलामा आएको बाढीमा परेर घाइते भएका दुईको उद्धार भएको छ । उक्त पहिरोमा परेर घाईते भएकी २० वर्षीय सबीता तामाङ र१९ वर्षीय सुवेश तामाङको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको छ ।

अन्य तीनजना घाइतेको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । सबीताका श्रीमान र बच्चाको भने मृत्यु भइसकेको छ । यसैबीच बाढी र पहिरोमा परी बेपत्ताा भएका सबैको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जम्बुका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जनाको पहिचान खुलेको हो ।

भोटेकोशी गाउँपालिकाका बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बाह्रबिसे नगरपालिकाका बेपत्ता हुनेहरुमा भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेको डीएसपी काफ्लेले बताउनुभयो । उनीहरुको खोजी कार्य भइरहेको छ ।

यसैबीच, बलेफि गाउँपालिका ८ र बाह्रबिसे नगरपालिकाको सिमानामा रहेको अरनिको राजमार्गमा पर्ने जुरेमा एक सय मिटर सडक बाढीले बगाएको छ । भोटेकोशी र सुनकोशी खोलामा पानीको वहाव अत्यधिक बढेपछि ड्यामसाइड अगाडिको करिब एक सय सडक खोलाले कटान गरेको हो ।

सडक खोलाले बगाएपछि जुरेमाथि जाने यातायातका साधन आवतजावत ठप्प छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा जम्बु, खागदल र वन्जीमा भएको बाढी र पहिरोमा परेकाको उद्धारमा कठिनाई भएको छ ।

यसैगरी बाह्रबिसेबाट सुनकोशी जाने बाटोमा पनि पहिरो जाँदा बाटो बन्द भएको छ । जुरेमा वर्षेनी बाढीले सडक बन्द हुने गरेको छ । २०७१ साउन १७ गते जुरे पहिरो जाँदा १ सय ५६को मृत्यु भएके थियो भने करौंडोको क्षति भएके थियो ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्