मधेशीलाई होच्याएर खिल्ली उडाएको भन्दै सन्दीप क्षेत्री समेत कान्तिपुर TV विरुद्ध उजुरी
मधेशी महिलालाई होच्याएर प्रस्तूत गर्दै मधेशीको लवजको अपमान गरेको भन्दै कान्तिपुर टेलिभिन र त्यसको कार्याक्रम प्रस्तोता सन्दीप क्षेत्री विरुद्ध उजुरी दायर भएको छ।
कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘ह्वाट द् फ्लप’ को गत जुन २५ मा प्रशारित श्रृखंलामा मधेशी समुदाय र विशेषगरी मधेशी महिलाको स्वाभिमानमा चोट पु¥याएको भन्दै मधेशी युवाहरुले उजुरी दिएका छन्।
प्रेस काउन्सिल र मधेशी आयोगमा शरदसिंह यादवले उजुरी दर्ता गराएका छन् भने केहि युवाहरुले हुलाकमार्फत पनि प्रहरी, प्रेस काउन्सिल तथा मधेशी आयोगमा उजुरी प्रेसित गरेका छन् ।
बीरगञ्जका युवाहरुले जिल्ला हुलाक कार्यालय पर्सामामार्फत प्रस्तोता क्षेत्री, कान्तिपुर टेलिभिजन, टेलिभजनका सम्पादक प्रसान्त अर्याल, कार्यक्रम संयोजक सुरेश सिंह ठकुरी र कान्तिपुर समुहका निर्देशक कैलाश सिरोहिया विरुद्ध उजुरी दर्ताका लागि काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुलाई निवेदन पठाएका छन्।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ६५ र उपदफा ९१० बमोजिम मधेश र मधेशीलाई अपमानित गर्ने खालका सामाग्री सम्प्रेषण गर्ने टेलिभिजनका प्रस्तोता, निर्माता विरुद्ध कारबाहीको माग गरिएको छ।
जाहेरी दिनेमा अशोक कुमार कुशवाहा, ओमप्रकाश सर्राफ, वृजेश्वर प्रसाद चौधरी, आशु सर्राफ, लालबाबु सिंह, किसन सर्राफ, अमिता साह, श्याम कुमार सर्राफ, निशा गुप्ता र ओम कुमार झा रहेका छन्।
यसअघि पनि मधेशीलाई अपमानित गरी कार्यक्रम सञ्चालन गरेको कृषि टिभी र देवी खड्काको टिकटकका विषयमा पनि प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थिायो तर ब्यूरोले हालसम्म कुनै कारवाही गरेको छैन।