कांग्रेस-जसपाको समिक्षा बैठक : ‘सरकारकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध जटिल बन्यो’
काठमाडौं : नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले ‘समीक्षा बैठक’ गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले (नेकपा)का नेताहरूसँग पालैपालो भेटवार्ता तीव्र बनाएका बेला कांग्रेस र जसपा का नेताहरुले समिक्षा बैठक गरेका हुन् ।
जसपाका नेता अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए । यस्तै, छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्ण सिटौला पनि सहभागी थिए ।
भेटमा दुबै दलका नेताहरूले हठात् संसद अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएका छन् । महत्वपूर्ण विधेयक, संकल्प प्रस्ताव विचाराधीन रहेकै अवस्थामा सभामुख र विपक्षी दलसँग परामर्श नगरी संसद अधिवेशन अन्त्य गर्नु आपत्तिजनक भएको नेताहरूले बताएका छन् ।
जसपाका नेता महतोले संसदको अधिवेशन अन्त्य गरेर सरकारले जनताको मुखमा ताला लगाउने काम गरेको बताए । बैठकमा सरकारकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भएको विषयमा समेत समीक्षा भएको नेताहरुले बताएका छन् । तर, यसबारे थप खुलाउन चाहेका छैनन् ।