Logo
९ मंसिर २०८१, आईतबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा वडा सचिवसहित ३ जना पक्राउ

प्रदेश नं ५ स्थित दाङको घोराहीबाट किर्ते गरेको आरोपमा प्रहरीले वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए ।

उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘‘पक्राउ परेका दुई जना वडा सचिवहरुले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौंँ’’, प्रहरी प्रवक्ता खड्काले भने ।

अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन् । पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो ।

उपमहानगरपालिकाले ती किशोरी २०५९ मा जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरिदारसहित तीन जनालाई पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ दफा २७६ ९किर्ते गर्न नहुने० बमोजिम मुद्दा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्