Logo
२३ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ आइजीपिमा शैलेश थापा र हरि पाल प्रतिस्पर्धी, ठाकुर ज्ञवालीले ८ दिनमा अवकाश लिने

नयाँ आइजीपिका लागि नेपाल प्रहरीमा दौडधूप सुरु भएको छ । नयाँ आइजीको प्रतिस्पर्धामा अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापा र हरि पाल प्रतिस्पर्धीका रुपमा छन् ।

यी दुईमध्ये जसले बाजी मारे पनि प्रहरीले लामो समयपछि एआइजीबाट आइजी पाउँदै छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले ८ दिनपछि अवकाश पाउँदैछन् । तर उनीपछि प्रहरीको नेतृत्व कसले सम्हाल्छ भन्ने टुंगो लागेको छैन । सरकार अनिर्णीत भएकाले अवकाशको एक महिनाअघि महानिरीक्षक विदा बस्ने परम्परा यसपालि पनि खल्बलिएको छ ।

ज्ञवालीले प्रहरी महानिरीक्षक आइजीको जिम्मेवारी सम्हालेको पाँच महिना पनि पूरा भएको छैन । ३० वर्षे सेवा अवधिका कारण उनले असार २५ मा अवकाश पाउँदैछन् । ज्ञवालीसहित यसअघिका प्रहरी प्रमुख सर्वेन्द्र खनाल र प्रकाश अर्याल डीआइजीबाट सिधै आइजी भएका थिए ।

अहिले प्रतिस्पर्धामा रहेका थापा र पाल दुवैजना चार महिनाअघि एआइजीमा बढुवा भएका थिए । यी दुवै अधिकृत ०४९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनीहरुसँगै एआइजी भएका तारिणी लम्सालले तीस वर्षे सेवा अवधिका कारण ज्ञवालीसँगै अवकाश पाउँदैछन् । जसका कारण वरियतामा पहिलो नम्बरका थापा र दोस्रो नम्बरका पालबाट २८ औं आइजीपी छानिनेछ । तर सरकारले समयमै निर्णय नलिँदा अवकाशको एक महिनाअघि विदा बस्ने परम्परालाई यसपालि ज्ञवालीले पनि निरन्तरता दिन सकेनन् ।

सुरक्षा संगठनमा खासगरी नयाँ प्रमुखलाई जिम्मेवारी बुझ्ने अवसर दिन अवकाशको एक महिनाअघि आइजी विदा बस्ने परम्परा बसालिएको हो । तर सरकारले अन्तिम समयमा निर्णय लिने गरेकाले त्यो परम्परा केही वर्षयता खल्बलिएको मात्र छैन कि संगठनमा राजनीतिक हस्तक्षेप पनि बढेको छ ।

अबको आइजीले २२ महिना प्रहरीको नेतृत्व सम्हाल्नेछ । यसअघि सर्वोच्च अदालतले तजबिजमा नभइ ऐनमै प्रस्ट विधि किटेर बढुवा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्