जारी लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका ३ सय ट्याक्सी नियन्त्रणमा
जारी लकडाउनको विरुद्धमा प्रदर्शनमा निस्किएका भन्दै ३ सय ट्याक्सी नियन्त्रणमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् । उनीहरु नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा छन् ।
महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको बताए । साँझ ती ट्याक्सीहरुलाई छाडिने उनले बताए ।
ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए ।